दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार बन्दीसहित उपस्थित हुन आदेश गरेको हो ।

प्रसाईंको रिहाइको माग गर्दै छोरा निराजन प्रसाईले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । सोही रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मंसिर १ गते मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिँदै आएका थिए । कतिसम्म भने उनले अत्यावश्यक सामग्रीको जोहो गरेर राख्न अभिव्यक्ति दिएपछि सर्वसाधारण त्रसित बनेका थिए । सोही कारण प्रहरीले उनलाई मध्यराति नै घरबाट पक्राउ गरेको हो ।