काठमाडौं । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध नाराबाजी भएको छ । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन इटहरी जान लागेका बस्नेतलाई आज बिहान विराटनगर विमानस्थलबाहिर जेनजी युवाहरूले नाराबाजी गर्दै अवरोधको प्रयास गरेका हुन् ।
त्यसक्रममा हत्याराको छोरो भन्दै बस्नेत सवार गाडीमा आक्रमणको प्रयाससमेत भएको बताइएको छ । बस्नेत विराटनगर आइपुगेको थाहा पाएपछि ठूलो संख्यामा जेनजी युवाहरू विमानस्थल बाहिर पुगेका थिए । उनी एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा रातो रङ घोलिएको पानी भरेको बेलुनले गाडीमा हानेका थिए ।
प्रहरीले घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ । तत्काल दुईजनालाई पक्राउ गरेकोमा बस्नेतले प्रहरीलाई धन्यवाद दिएका छन् । ‘शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन, प्रहरीको तत्परताप्रति धन्यवाद,’ उनले भनेका छन् ।
बस्नेतले युवा संघको अभियान कसैले छेक्दैमा नछेकिने पनि बताएका छन् । ‘बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सरु हुँदैछ, सकारात्मक सन्देशसहित यो अभियानले देशभर नयाँ प्रेरणा फैलाउनेछ’, उनले भनेका छन् ।
जेन–जीद्वय विराटनगर-२ बस्ने १९ वर्षीय अर्पित कुवँर र विराटनगर-१ का २५ संजोग गौतमले उनी चढेको गाडीमा मसी छ्यापेका हुन् ।














प्रतिक्रिया