रास्वपाका काठमाडौंका नेता विष्टले छाडे पार्टी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँका सभापति प्रदीप विष्टले पार्टी छाडेका छन् । उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएको बुझिएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–१० बाट उम्मेदवार बनेका उनले आठ हजार ७३९ मत ल्याएका थिए । निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका थिए ।

पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रदेश समितिले स्वीकृत गर्न बाँकी रहेको बताइन्छ । ‘काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु, पार्टीबाट होइन,’ उनले भने ।

जेनजी आन्दोलनपछि रास्वपाका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोडिरहेका छन् । कात्तिक २८ गते नेता सन्तोष परियार रास्वपाबाट बाहिरिएका थिए । त्यसअघि सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् ।