रंगशालाकै कारण कलाकार सीताराम कट्टेल जिल्ला अदालत पुगे


काठमाडौं । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रकरणमा लेनदेनको विषयमा कलाकार सीताराम कट्टेल धुर्मुस जिल्ला अदालत ललितपुरमा उपस्थित भएका छन् । रंगशाला निर्माण गर्दा विभिन्न आपूर्तिकर्ताले धुर्मुस सुन्तली फाउन्डेसनलाई निर्माण सामग्री उधारोमा उपलब्ध गराएका थिए । तर अहिलेसम्म पनि पैसा नतिरेको भन्दै विभिन्न आपूर्तिकर्ताहरूले फाउन्डेसनविरुद्ध चितवन र ललितपुर जिल्ला अदालतमा १९ वटा मुद्दा दर्ता गरेका थिए ।

फाउन्डेसनलाई तिर्नुपर्ने १८ करोड ४३ लाखमध्येको पन्चकन्या स्टिल्सलाई तिर्नुपर्ने ५२ लाखको लेनदेन मुद्दाको उजुरीअनुरुप आइतबार जिल्ला अदालत ललितपुरमा तारेखका लागि धुर्मुस उपस्थित भएका हुन् । यसअघि कात्तिक १७, २३ र २४ गते पनि धुर्मुसले अदालतको तारेख बुझेका थिए । तारेख बुझ्न अदालत पुगेका धुर्मुसको तस्बिर सामाजिक सञ्जालमा राख्दै कुमार कट्टेलले भरतपुरकी मेयर रेणु दाहाल र सरकारलाई धन्यवाद भनेका छन् ।

सात वर्षअघि धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकामा रंगशाला बनाउन तत्कालीन प्रधानमन्त्री केपी ओलीको समुपस्थितिमा भरतपुर महानगरपालिकासँग सम्झौता गरेको थियो । मेयर दाहाल र सीताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर तीन वर्षमै फाउन्डेसनले निर्माणबाट हात झिक्यो । यसबीचमा रंगशालामा करिब ६० करोड बराबरको काम भएको सरकारकै अध्ययन टोलीले प्रतिवेदन तयार पारेको छ ।

तर रंगशाला बनाउने बेला फाउन्डेसनले आवश्यक कागजपत्र बुझाउन नसकेको भन्दै सरकारी निकायले धुर्मुस सुन्तली फाउन्डेसनलाई क्लिन चिट दिन मानेका छैनन् । फाउन्डेसनले विभिन्न आपूर्तिकर्तासँग उधारोमा लिएको साढे १८ करोडको हिसाबकिताब चुक्ता गर्न सकेको छैन । यही विषयमा धुर्मुसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेको छ । धुर्मुस सुन्तलीले आफूहरूलाई भरतपुर महानगर र संघीय सरकारले मानसिक तनाव दिएको आरोप लगाएका छन् ।