कांग्रेसका सात भाइले खाइदिए पूर्णबहादुरको ‘कार्यबाहक सभापति’


काठमाडौं । महाधिवेशन विवादकै कारण कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको कार्यबाहक सभापति पद चैट भएको छ । कांग्रेसका सात भाइले खड्काको कार्यबाहक सभापति पद पुनः सभापति शेरबहादुर देउवाकैमा फर्काएका हुन् ।

जेनजी आन्दोलनपछि देउवाले असोज २८ को केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि उनी १८ दिन सिंगापुरमा बसे । खड्कालाई कार्यबाहक दिएकोमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, विजयकुमार गच्छदार र शशांक कोइरालालाई चित्तै बुझेको थिएन । त्यही भएर यी सात भाइले देउवालाई सिंगापुरमै फोन गरेर महाधिवेशनमा नजान दबाब दिँदै आएका थिए ।

देउवालाई धेरै नै दबाब दिएर उनीहरूले नेपाल फर्काइ सभापतिमा पुनः सक्रिय बनाएका छन् । कांग्रेसले माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ । देउवालाई नै सभापतिमा राखेर कांग्रेसले दल दर्ताको निवेदन दिएपछि आगामी निर्वाचनका लागि उनले नै उम्मेदवारको टिकट बाँड्ने आकलन कांग्रेस नेताहरूले गरेका छन्।

निर्वाचनमा सहभागी हुने र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय शनिबारको केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो । त्यही बैठकको निर्णय, सभापतिको नाम, थर, पद र हस्ताक्षरसहित दल दर्ताको निवेदन पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगमा बुझाएका छन् । दल दर्ता गर्दा आफ्नो नाम अघि सारेर सभापतिमा देउवाले आसन्न निर्वाचनको टिकट वितरणमा आफैं सक्रिय हुने सन्देश प्रवाह गरेका हुन् ।

खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएयता महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमै कांग्रेस रुमल्लिइरहेको छ । यसबीचमा कार्यवाहक सभापति खड्काको निर्णय क्षमतामाथि पनि प्रश्न उठ्न थालेको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि देउवाले पार्टी नेताहरूसँग परामर्श थालेका थिए । दल दर्ताको निवेदनमा सभापति देउवाकै नाम राखिएपछि उनकै योजनामा पार्टी महाधिवेशन धकेल्न खोजिएको आशंका बलियो बनेको इतर पक्षले जनाएको छ ।

खड्कालाई अहिले सात भाइले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग मिलेको आरोप लगाएका छन् । खड्काले उनीहरूकै इसारामा कांग्रेसलाई चलाएको भन्दै देउवालाई कान फुकिरहेका छन् । त्यसैले अहिले देउवालाई सक्रिय बनाइएको बताइन्छ ।