गगन थापाले भने– विशेष महाधिवेशनबाट चुनिने सभापतिको हस्ताक्षरमा चुनाव लड्ने हो


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टीले चुनाव नलड्ने बताएका छन् । फागुनमा हुने निर्वाचनका लागि कांग्रेसले सभापति देउवाको हस्ताक्षरमा दल दर्ता गरेपछि अहिलेकै नेतृत्वमा कांग्रेस चुनावमा जाने आंकलन गरिएपछि महामन्त्री थापाले सोमबार यसबारे प्रस्टीकरण दिएका हुन् ।

थापाले बिहानदेखि धेरै साथीहरुले पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो र भनेर आफूलाई प्रश्न सोधेको भन्दै आफूले होइन भनेर जवाफ दिएको उल्लेख गरेका छन् । पार्टीको विधानबमोजिम समयभित्र विशेष महाधिवेशन हुने र त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचनमा जाने जानकारी दिँदै उनले नयाँ नीति र नेतृत्वसहित कांग्रेस चुनावमा जाने दाबी गरेका छन् ।

‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भने, होइन। साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भने, प्रष्ट छ– अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं,’ थापाले सामाजिक सञ्जालमा भनेका छन् ।