‘परान’ र ‘जेरी अन टप’ को कमाई २७ करोड


काठमाडौं । यस वर्ष नेपाली चलचित्रको कमाई सन्तोषजनक नै रहेको मान्नु पर्छ । दसैँ र तिहारका बेला प्रदर्शनमा आएका चलचित्रहरूले अपेक्षित कमाई गरेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

दसैँमा भन्दा पनि तिहारमा प्रदर्शनमा आएका दुई चलचित्रको कमाई झन्डै २७ करोड रहेको छ । अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले पाँच हप्तामा १२ करोड १९ लाख आम्दानी गरेको छ । चलचित्र हेर्न तीन लाख ८९ हजार टिकट बिक्री भएको छ ।

त्यसपछि प्रदर्शनमा आएको ‘परान’ चलचित्रले भने उधुम नै मच्चायो । सुरुवाती तीन दिनसम्म खासै नचलेको नीर शाह स्टारर ‘परान’ ले दर्शकलाई हलसम्म ल्याउन ठूलो योगदान गरेको छ । ‘परान’ ले तेस्रो सातासम्म १४ करोड १६ लाख कमाई गरेको छ । जुन यस वर्ष रिलिज भएका चलचित्रमध्ये सबैभन्दा धेरै कमाई हो । चलचित्र हेर्न झन्डै पाँच लाख दर्शक हलसम्म पुगेका छन् ।

यस्तै, दयाहाङ राई र मेरुना मगरको ‘जारी २’ चलचित्रले पाँच करोड ८९ लाख रुपैयाँको व्यापार गरेको छ । चलचित्र हेर्न एक लाख ९५ हजार दर्शकले टिकट काटेका छन् ।

‘जारी २’ सँगै प्रदर्शनमा आएको बालगायक अशोक दर्जीको ‘मनविनाको धन’ ले पनि राम्रो व्यापार गरेको छ । चलचित्रले अहिलेसम्म तीन करोड ४० लाखको व्यापार गरेको छ । जुन हिट चलचित्रको कमाई हो । यो चलचित्रलाई अहिलेसम्म एक लाख २८ हजार दर्शकले हेरेका छन् । यो सबै नेपालभित्र बक्स अफिस जडान भएका हलको कमाई मात्र हो । शनिबार राति ११ बजेसम्मको रिपोर्टमात्र हो यो ।

यतिबेला विदेशमा पनि ‘जेरी अन टप’, ‘परान’, ‘जारी २’ चलचित्र प्रदर्शनरत छन् । यस वर्ष दसैँमा रिलिज भएका ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले पनि राम्रो व्यापार गरेका थिए ।