प्रधानमन्त्री कार्की देउवा, ओली र प्रचण्डको मुख हेर्न तयार, चुनावबारे छलफल गर्ने


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की साढे दुई महिनापछि प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न तयार भएकी छन् । यसअघि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको मुखसमेत हेर्न मन नलागेको प्रतिक्रिया दिएकी थिइन् ।

सरकारले फागुन २१ गते चुनावको घोषणा गरे पनि प्रधानमन्त्री कार्कीले छलफल नगरेको भन्दै प्रमुख तीन दलका नेताले गुनासो गर्दै आएका छन् । ओलीले त प्रधानमन्त्री कार्की आफैंले चुनाव नचाहेको आरोपसमेत लगाउँदै आएका छन् ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबिच आपसी विश्वास र समन्वयको अभाव देखिएकै वेला कार्की प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने गृहकार्यमा जुटेकी हुन् । दलहरूका दोस्रो र तेस्रो तहका नेतासँग तीनपटक छलफल गरिसकेकी प्रधानमन्त्री कार्कीले सत्ता सम्हालेको साढे दुई महिनापछि देउवा, ओली र प्रचण्डसँग संवादको गृहकार्य थालेकी हुन् ।

जेनजी आन्दोलनपछि सत्ताबाट विस्थापित र जेनजी युवाको आक्रोशमा परेका शीर्ष नेता र प्रधानमन्त्रीबिच संवाद नहुँदा फागुनको निर्वाचनलाई लिएर अझै संशय छन् । कार्कीले आफूलाई जेनजीले देउवा, ओली र प्रचण्ड नभेट्न दबाब दिएको अभिव्यक्ति दिएकी थिइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले शीर्ष तीन नेतासँग प्रधानमन्त्रीको संयुक्त छलफलको गृहकार्य भइरहेको जानकारी दिए । ‘पहिलो चरणमा तीनैजनालाई संयुक्त भेट्ने योजना छ । मिति निश्चित भएको छैन । मंगलबार आमन्त्रण–पत्र जान्छ होला,’ उनले भने ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन तीन नेतासँग छलफल गर्न लागिएको हो । सबै परिस्थिति सामान्य बन्दै गएको र निर्वाचनको माहोल पनि बनिरहेका वेला दलहरूलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीले छलफलको अग्रसरता लिएकी हुन् ।