दाहसंस्कार गर्न लगिएकी महिला भेटिइन् जीवित


काठमाडौं । थाइल्याण्डमा दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र हलचल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित भएका छन्।

बैंकक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले विस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ। जसले मन्दिरका कर्मचारीहरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो।

मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिएका छन् । कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो।

‘म केही क्षणका लागि अचम्म परेँ र कफिन खोल्न भन्नुप¥यो । खोल्नेबित्तिकै सबैजना स्तब्ध भयौँ’, उनले भने, ‘उनी अलिक आँखा थोरै खोलेर कफिनको ढकढक्याउँदै थिइन् । उनले केही समयदेखि सहयोग माग्दै ढकढक्याइरहेको हुनुपर्छ ।’
पैराटका अनुसार ती महिला करिब दुई वर्षदेखि ओछ्यानमै परिरहेकी थिइन् । स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छाडेकीजस्तो देखिएकाले भाइले मृत भनी कफिनमा राखेर बैंककस्थित अस्पतालसम्म करिब ५०० किलोमिटर यात्रा गरेका रहेछन् । ती महिलाले पहिल्यै आफ्नो अंगदान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउने भएकाले भाइले आइतबार मात्रै मन्दिरसँग सम्पर्क गरेका थिए । तर आवश्यक कागजात नहुँदा मन्दिरले पनि सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

मृत्यु प्रमाणपत्र कसरी प्राप्त गर्ने भन्ने बारे मन्दिरका अधिकारीहरूले बुझाइरहँदा–कफिनभित्रबाट ढकढक्याएको आवाज आएको थियो । त्यसपछि तुरुन्तै महिलाको स्वास्थ्य अवस्था मूल्यांकन गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्दिरले जनाएको छ ।