काठमाडौं । सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ६ उच्च अधिकारीलाई अध्यागमनको कालोसूचीमा राखेको छ।
भदौ २३ र २४ को घटना जाँचबुझ गर्न बनेको आयोगको सिफारिसमा ओली र लेखकसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई कालोसूचीमा राखिएको हो । कात्तिक २७ मा अवकाश पाएका तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई प िकालोसूचीमा जोडिएको छ ।
जेन–जी आन्दोलनका घटनामा अत्यधिक बल प्रयोग र शान्ति–सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई विदेश यात्रा रोक लगाइएको हो। सम्बन्धित व्यक्तिहरूलाई भने औपचारिक जानकारी दिइएको छैन ।
ओलीको निजी सचिवालयले भने स्थान हदका विषयमा मिडियाबाट समाचार सुनेको र कालोसूचीमा राखेको विषयमा कतै पनि जानकारी नपाएको बताएको छ ।
जाँचबुझ आयोगले २३ भदौको जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरेको, भोलिपल्ट शान्ति–सुरक्षा व्यवस्थापन गर्न नसकेको जस्ता विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, अनुसन्धान विभाग प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान दायरामा राखेको छ । उनीहरूलाई जुनसुकै बेला बयानमा उपस्थित गराउनुपर्ने कारण देखाएर आयोगले विदेश यात्रामा रोक लगाउन र काठमाडौं उपत्यकाबाहिर पनि स्वीकृति लिएर मात्र जान पाउने प्रबन्ध मिलाउन सरकारलाई सिफारिस गरेको थियो । तर एमाले अध्यक्ष ओलीले आफूले आयोगलाई बयान नदिने अडान लिएका छन् । स्रोतका अनुसार एक साताभित्र आयोगले ओली र लेखकसँग बयान लिने छ ।














प्रतिक्रिया