रवि र छविको मुद्दामा आज पनि पेसी तोकियो


काठमाडौं । सहकारी ठगी र संगठित मुद्दाको आरोप थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पनि उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हप्ताको स्थगित सुनुवाइपछि आज पुनः पेसी तय भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। गत हप्ता रविकै कानुन व्यवसायीले पेसी स्थगित गर्न माग गरेपछि सुनुवाइ हुन सकेको थिएन ।

सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर भएको छ। लामिछाने र जोशी दुवैले बिगोअनुसार आफूहरूको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत पेस गरे पनि बिगो निश्चित नभएको भन्दै जिल्ला अदालतले साउन २६ गते रिहा नगर्ने आदेश दिएको थियो। सो निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। हाल रवि काठमाडौं कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्।