आजदेखि चुच्चे नक्सासहितको एक सय रुपैयाँको नोट चलनचल्तीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको एक सय रुपैयाँको नयाँ नोट बिहीबारबाट प्रचलनमा ल्याएको छ । पूर्वगभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट राष्ट्र बैंकले चलनचल्तीम ल्याएको हो । नयाँ नोट संकत नम्बर २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ । नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखिएको छ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ । २ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले २०७६ असोज ७ देखि रुपैयाँ १०० दरको बैंकनोट संकेत नम्बर ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।