काठमाडौं । महाधिवेशनको मितिलाई लिएर नेपाली कांग्रेसभित्र जारी विवाद समाधानको दिशामा अघि बढेको छ । अहिले देखिएका समस्या समाधान गरेर पार्टी एकता कायम गर्ने प्रयास सहमतितर्फ अग्रसर भएको छ । सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा सहमति नजनाए पनि निर्वाचनअगाडि नियमित महाधिवेशन गर्न सहमत देखिएका छन् ।
देउवाको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग विभिन्न चरणमा छलफल गरिरहेका छन् । संवादमा सक्रिय नेताहरुका अनुसार बितेको २४ घण्टामा सहमतिका लागि थप वातावरण बन्दै गएको छ । संस्थापन पक्षले पुसभित्र नियमित महाधिवेशन गर्न विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो ।
पछिल्लो संवादका क्रममा सभापति देउवाले हस्ताक्षर फिर्ता नभए पनि नियमित महाधिवेशन गराउन तयार रहेको सन्देश दिएका छन् । यसले सहमतिको वातावरण बनेको नेताहरूले बताएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका छन् ।
जसमा नेता शेखर कोइराला एवं महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन छ । जारी केन्द्रीय समितिले पुस २७ भित्र नियमित महाधिवेशन वा विधानअनुसार विशेष महाधिवेशन सुनिश्चित गर्नुपर्ने संस्थापन इतर पक्षको माग छ । असोज २८ बाट सुरू भएको कांग्रेस बैठक पटकपटक सर्दै आएको छ । आजका लागि डाकिएको बैठक शुक्रबारसम्म स्थगित भएको छ ।
इतर पक्षले विशेष महाधिवेशन मागेर बुझाएको हस्ताक्षर निस्क्रिय नहुने सर्तमा पुसभित्र नियमित महाधिवेशन सुनिश्चित, सँगै पुस पहिलो हप्तामा वडा, क्षेत्रको अधिवेशन असम्भव हुँदै गए पुस २७–२९ मा निःसर्त विशेष महाधिवेशन आयोजना गर्ने चेतावनी दिएका छन् । यदि नियमित महाधिवेशनको कार्यतालिका नल्याइए महामन्त्रीसहित चुनाव अगाडि महाधिवेशन माग्ने सबै तहका प्रतिनिधिले पदबाट राजीनामा दिएर स्वेच्छिक विद्रोह गर्नेसम्मको तयारी उनीहरूले गरेका छन् । इतर पक्षको यस्तो तयारीपछि सभापति देउवाले बीचको बाटो अवलम्बन गर्ने नीति अख्तियार गरेका छन् ।














प्रतिक्रिया