विशेष महाधिवेशन पक्षधरले दिए मंसिर २८ सम्मको अल्टिमेटम, ‘नहुने महाधिवेशन’ को कार्यतालिका नमान्ने


काठमाडौं । कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले मंसिर २८ गतेभित्र महाधिवेशन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् । उनीहरूले चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याएर सहमति जुटाउने प्रयास भइरहे पनि त्यसलाई नमान्ने अडान लिएका छन् । ‘नहुने महाधिवेशन’ को कार्यतालिका नमान्ने उनीहरूको चेतावनी छ ।

‘जनताको अपेक्षाअनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक छ भन्ने गहिरो अनुभूति गर्दै हामीले विशेष महाधिवेशनको माग गरेका हौँ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा हामी गहिरो दुःख व्यक्त गर्छौँ,’ विशेष महाधिवेशन पक्षधरले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति अस्वीकार गर्ने जनाएका छन् ।

‘विधानको पूर्ण पालना गर्नु हामी सबैको पहिलो कर्तव्य हो। हाम्रो हरेक गतिविधि, पहल र समाधान विधानकै दायराभित्र हुन्छ र रहन्छ। नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, कांग्रेसका संस्थापन पक्षका वरिष्ठ नेताहरूले सभापति शेरबहादुर देउवासँग छलफल सुरु गरेका छन् । देउवा बसेको महाराजगंजस्थित निवासमा संस्थापन पक्षका नेताहरूको छलफल जारी छ ।

कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस जारी रहँदा संस्थापन पक्षले चुनावअघि कुनै पनि महाधिवेशन नहुने अडान राखेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानमा छन् भने नेता डा. शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् ।