२० लाख धरौटीमा पूर्वसभामुख महरालाई छाड्न उच्च अदालतको आदेश


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । महरा गत असोज २६ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनीविरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । महराले आफूसँग कुरा आएपछि सहजीकरण गरिदिएको स्वीकार गरेका थिए । सुन तस्करी प्रकरणमा उनका छोरा निर्मल पनि मुछिएका छन् ।

प्रतिवादी उपरमा लागेको अभियोग दाबी तथा संकलित सबुत प्रमाणहरू, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७२ समेतलाई विचार गरी पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादी कृष्णबहादुर महराबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रू २०,००,००० (बीस लाख रुपैयाँ) नगद धरौटी वा सोबराबरको जमानत वा बैंक जमानत दिए लिई मुद्दा पुर्पक्षका लागि तारिखमा राखी नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ ।