चुनाव हुने टुंगो छैन, राष्ट्रपतिले दिए सेना परिचालनको स्वीकृति


काठमाडौं । आगामी फागुन २१ का लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मंसिर ४ गते सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले स्वीकृति दिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो ।

निर्वाचन सुरक्षा योजना अन्तर्गत मतपत्र छपाइ, ढुवानी तथा मतदान स्थलको बाहिरी घेराको सुरक्षा वा अति संवेदनशील क्षेत्रको सुरक्षाका लागि सेना खटाउने प्रचलन छ । निर्वाचन आउन अझै साढे तीन महिना बाँकी छ । प्रमुख दलहरू अझै निर्वाचनका लागि तयार देखिएका छैनन् । दल दर्ता गराउने समय चार थप गरिएको छ ।

प्रमुख दलहरू नतातेसम्म चुनावको माहोल बन्दैन । अहिलेसम्म कुनै पनि दल खुलेर जनतामा जान सकेका छैनन् । चुनावको मिति घर्किंदै जाँदा पनि दलहरू नतातेपछि दबाबमा परेको सरकारले सेना परिचालन गरेपछि चुनावी माहोल बन्ने अपेक्षा गरेको विश्लेषण हुन थालेको छ । यसअघिका निर्वाचनमा थोरै समय बाँकी छँदा सेना परिचालनको स्वीकृति दिने गरिन्थ्यो ।