एनपिएलमा डिफेन्डिङ च्याम्पियन जनकपुरको पुनरागमन


काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो पाँचौं खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै प्रतियोगितामै पहिलो जित निकाल्यो ।

लगातार चार खेलमा पराजित भएर तालिकाको पुछारमा रहेको जनकपुरले पहिलो जित निकालेसँगै प्लेअफ सम्भावना कायम राखेको छ । जनकपुर पहिलो खेलमा काठमाडौंसँग ५ विकेट, दोस्रो खेलमा विराटनगरसँग ९ रन, पोखरासँग २५ रन तथा चौथो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो । चितवन भने प्रतियोगितामा तेस्रो हार बेहोर्न बाध्य भयो । चारमध्ये दुई खेल जितेर ४ अंक जोडेको चितवनको पनि प्लेअफ सम्भावना यथावत् छ ।

जनकपुरविरुद्ध जित निकालेको भए, टोलीको सम्भावना बलियो हुने थियो । चितवनले पहिलो खेलमा कर्णालीलाई ४ तथा विराटनगरलाई ४८ रनले पराजित गरेको थियो भने लुम्बिनीसँग ६ विकेट तथा काठमाडौंसँग ५३ रनले हारेको हो । तालिकामा पाँचमध्ये पाँचै खेल जितेको सुदूरपश्चिम १० अंक जोड्दै प्लेअफमा स्थान बनाइसकेको छ । जनकपुरको पहिलो जितमा ओपनर माज सदाकत र अनिलकुमार शाहले अर्धशतक बनाए । दुई खेलाडीबीच ७९ रनको साझेदारी भएपछि टोलीले पहिलो जित निकाल्न सफल भयो । ५.१ ओभरमा ४५ रन बनाउँदा आसिफ शेख आउट भएपछि दुई खेलाडीले ११.२ ओभरसम्म खेल्दै १२४ रन बनाएका थिए ।