काठमाडौं । कहिल्यै नाम नै नसुनिएको ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहले देशका १० जना विशिष्ट व्यक्तिहरूको ज्यान मार्ने धम्की दिएको विषयले अहिले नेपाल प्रहरीको टाउको दुःखाई बनेको छ । केही दिनअघि दियोपोस्ट अनलाइनमा उक्त समूहले १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको खबर प्रकाशित भएपछि नेपाल प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतका सर्कुलर जारी गरेको छ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा सतर्कता अपनाउन पत्राचार गरेका हुन्। ज्यान मार्ने धम्की दिइएका १० जना विशिष्ट व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वमहानिर्देशक गोपालबहादुर खड्का, पूर्वमन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा, पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं छन्।
‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमा तपाईंको नाम पनि छ’, उग्रवादी समूहले पठाएको पत्रमा भनिएको छ, ‘१० दिनभित्र राजीनामा दिनुहोला,यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ ।’ आफूलाई संगठन प्रमुख बताउने प्रकाश पाठकद्वारा हस्ताक्षरित पत्रमा अघि भनिएको छ, ‘यो काम हामीले गर्दैनौँ, भागेका कैदीहरुले गर्नेछन्,उनीहरुलाई हामी आर्थिक सहायता गर्नेछौँ, घटनाको जिम्मेवारी भने हामी नै लिनेछौँ ।
’आतंकवादी गतिविधिको झल्को दिनेगरी तयार पारिएको उक्त पत्रमा हत्याको लागि भदौ २४ गते विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई परिचालन गरिनेसमेत बताइएको छ । सो समूहले १० दिनभित्र हत्या गर्ने धम्की दिएको छ । ‘निजहरूको निवास स्थान, भ्रमण मार्ग तथा कार्यक्रम स्थलहरूमा सम्बन्धित प्रहरी कार्यालयहरूलाई सुसूचित गराई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुन,’ प्रहरीको सर्कुलरमा भनिएको छ ।
पत्रमा उग्रवादी समूहको गतिविधिका बारेमा खबर संकलन गर्न, सादा पोसाकमा समेत प्रहरी परिचालन गरी गोप्य रूपमा सूचना सम्प्रेषण गर्न र ती विशिष्ट व्यक्तिहरूसँग आवश्यक समन्वय गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिइएको छ। प्रहरी प्रधान कार्यालयको सर्कुलरसँगै ती व्यक्तिहरू बसोबास गर्ने वडा एरियाअन्तर्गतका प्रहरी इकाईहरूलाई गस्ती र पेट्रोलिङ तीव्र पारिएको छ । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ समूह कहिले खुलेको र कहाँको हो भन्ने भेउ प्रहरीले समेत पाएको छैन ।














प्रतिक्रिया