काठमाडौं l नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा देशभर नेपाली कांग्रेसबाट सर्वसम्मत रूपमा सिफारिस हुने नेताहरूमा पहिलो बनेका हुन्।
नेपाली कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो। तर मोरङ–३ मा अन्य कुनै नेताले उम्मेदवारीमा दाबी नगरेपछि डा. शर्मा सर्वसम्मत रूपमा सिफारिस भएका हुन्।
सिफारिसपछि कार्यक्रमस्थलमै बोल्दै डा. शर्माले इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको बताए। उनले २०८२ सालमा निर्वाचन हुने–नहुने विषयमा आशङ्का व्यक्त गर्दै मोरङ–३ मा देखिएको मेलमिलाप र सहमतिको अभ्यासलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिए।
डा. शर्माले देशभरका १६४ निर्वाचन क्षेत्रले मोरङ–३ को प्रक्रियालाई रोल मोडेल का रूपमा लिनुपर्ने बताए। आ–आफ्नो क्षेत्रमा सहमतिमै उम्मेदवार तय गर्न सके नेपाली कांग्रेसमा नयाँ ऊर्जा र सकारात्मक सन्देश जाने उनको भनाइ थियो।
उनले भने,
‘०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन। तर चुनाव भयो भने मोरङ–३ को जस्तो सहमति देशभर सम्भव रहेछ भन्ने सन्देश कांग्रेसका १६४ वटै क्षेत्रले लिनुपर्छ। यसले पार्टीलाई नयाँ ऊर्जा दिन्छ र नेपाली कांग्रेस पुनः बहुमत ल्याउन सक्षम हुन्छ।’
डा. शर्माले आफू मन्त्री वा प्रधानमन्त्री बन्ने–नबन्ने अर्को विषय भएको उल्लेख गर्दै सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। साथै उनले मोरङ–३ क्षेत्रका सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन्।
स्थानीय जनताले डा. शर्मालाई मोरङ–३ का लागि विकल्प नभएको नेता भन्दै उनलाई आगामी दिनमा मन्त्री बन्ने शुभेच्छा र आशीर्वाद दिनुपर्ने धारणा व्यक्त गरेका छन्।














प्रतिक्रिया