रक्षक नै भक्षक भएपछि श्रीमतीमाथि कुटपिट गर्दै चार महिने छोराको हत्या गर्ने असई पक्राउ


काठमाडौं । चार महिने छोराको घाँटी थिचेर हत्या गर्ने प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका असई पुष्कर कार्कीले चार महिने छोराको घाँटी रेटेर हत्या हत्या गरेका हुन् । जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनले छोराको हत्या गरेर श्रीमतीलाई पनि कुटपिट गरेर फरार भएका थिए । असई कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । घटनालगत्तै फरार भएका कार्कीलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चार महिने शिशुको ब्रेन ट्युमरको उपचार भइरहेको थियो। छोराको उपचारकै विषयलाई लिएर असई कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको थियो। सोही विवाद उग्र बन्दै जाँदा कार्कीले आवेशमा आएर छोराको हत्या गरेको पाइएको छ।उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्कीले छोराको हत्या गर्नुका साथै श्रीमतीलाई पनि कुटपिट गरेर घाइते बनाएका छन्। कुटपिटबाट घाइते भएकी कृष्णाको अहिले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।अभियुक्त कार्की र उनकी श्रीमती कृष्णा दुवैजना नेपाल प्रहरीमा कार्यरत छन्।