प्रधानमन्त्री कार्कीमाथि खनिए महेश बस्नेत, नेतालाई छोए परिस्थिति कसैको नियन्त्रणमा नरहने चेतावनी


काठमाडौं । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत प्रधानमन्त्री सुशीला कार्कीमाथि खनिएका छन् । पछिल्लो समय कार्कीको भेटघाट र गतिविधि दल र नेताहरूमाथि धरपक्कड गर्ने नियतले भइरहेको भन्दै उनले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापना भए आफ्नो सरकारको आयु छोटिने देखेरै प्रधानमन्त्री कार्की अत्तालिएको दाबी गर्दै उनले अनावश्यक दुस्सहासी हर्कत गर्न लागिपरेको आरोप पनि लगाएका छन् ।

‘सरकारले अनाहकमा दल र नेताहरुमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको संकेत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ। यता, सुधन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो।

देशमा विघटित संसद् पुनःस्थापना भएर सुशीला कार्की नेतृत्वको सरकारको दिन छोटिने सम्भावना देखिएको कारण सरकारले अत्तालिएको छ। र, अनाशस्यक दुस्सहासी हर्कतको प्रयास गर्न खोज्दैछ । यदि यस्तो अस्थिर चरणतिर देश धकलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन,’ बस्नेतले भनेका छन् ।

उनले आफूहरू मरे देशको झण्डा ओढ्ने, तर प्रधानमन्त्री कार्की, सुधन गुरुङलगायत परे विदेशीको झण्डा ओढाउन नआउने भन्दै कडा आक्रोश जनाएका छन् । ‘हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ। तिमीहरू मरेउ भने विदेशीको झण्डा ओढाउन पक्कै मिल्दैन । देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ। यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सँदा राम्रो,’ बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।