काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पनि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सच्चिन चाहेको देखिएको छैन । आन्दोलनको तीन महिना हुनै लाग्दा ओली र देउवा फेरि पहिलेकै गठबन्धन ब्यूँताउन लागिपरेका छन् ।
शुक्रबार श्रीमती राधिका शाक्यसहित देउवा निवास पुगेका ओलीले भदौअघिकै गठबन्धन ब्यूँताउन प्रस्ताव गरेका थिए । ओली र देउवाबीचको सहमतिको रंग विस्तारै देखिन थालेको छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दालाई प्रमुख एजेन्डा बनाएको छ ।
आइतबार मात्रै देउवा निकट आठ पूर्वसांसदले सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको रिट निवेदन दायर गरिसकेका छन् । महाराजगन्जस्थित देउवा निवासमा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १८ जना सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ ।
रिक्त हुने १९ सदस्यमा एमालेका आठ, तत्कालीन माओवादीका सात, एकीकृत समाजवादीका एक, राष्ट्रपतिबाट मनोनीत एक, जनता समाजवादी पार्टी नेपालका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एकजना छन् । चुनावमा मिलेर गएमा तत्कालीन माओवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी) लाई एक सिट जित्न नदिने रणनीतिमा ओली छन् ।
यदि त्यसो भएमा कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ । ओलीले यस्तै आश्वासन दिएर देउवालाई फकाएको स्रोतले बतायो । जेनजी आन्दोलनबाट सत्ताच्यूत हुनुअघिसम्म कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री थिए । ओलीले संसद् पुनर्स्थापना भए देउवा नै प्रधानमन्त्री हुने विश्वाससमेत दिलाएको बुझिएको छ ।
ओली र देउवा भेटलगत्तै आइतबार कांग्रेसले संसद् पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुको अन्तर्य त्यही भएको नेताहरुले आकलन गरेका छन् । ओलीको प्रस्ताव र त्यसमाथि देउवाको धारणा औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।














प्रतिक्रिया