एमाले महधिवेशन आउन चार दिन बाँकी, नेतृत्व हात पार्न रस्साकस्सी तीव्र


काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन मात्र चार दिन बाँकी छ । अध्यक्ष केपी ओली तेस्रो कार्यकाल खाने दाउमा छन् । उनलाई रोक्न ईश्वर पोखरेल समूह निकै तयारी साथ लागेको छ । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बलियो समर्थन छ । केही अगाडिसम्म ओली वर्तमान पदाधिकारीको अल्पमतमा परेका थिए ।

तर अहिले सातजना उनीसँग खुलेका छन् । जसकारण फेरि ओली अध्यक्षमा चुनिने संस्थापन पक्षका नेताहरुको दाबी छ । यदि वर्तमान पदाधिकारीमध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठले मात्र ओलीलाई साथ नदिएको भए एमालेको १५औं महाधिवेशनले नयाँ नेतृत्व पाउने बताइन्छ । महाधिवेशनमा दुई हजार १५४ जना प्रत्यक्ष निर्वाचित भएर आउने छन् । एक सय आठजना प्रतिनिधि मनोनीत हुनेछन् ।

प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ जना सहभागी हुनेछन्। एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार तत्कालीन एकीकृत समाजवादीलाई लक्षित गरेर एमालेले सुरु गरेको घरफर्क अभियानबाट आउनेमध्येबाट समेत तीनजनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् ।

अधिकारीका अनुसार प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या पनि समाधान भइसकेको छ । प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको छ । एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधिबाहेक थप ३५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्।

उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्। सल्लाहकार परिषदमा ३७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । विभागले दिएको जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । एमालेको महाधिवेशनको उदघाटन भक्तपुरको सल्लाघारी चौरमा र बन्दसत्र भृकुटीमण्डपमा हुने तय छ ।