भिजिट भिसा प्रकरणमा मुद्दा दर्ता गर्दै अख्तियार, को को तानिएलान् ?


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धान सकेको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकारका पालामा अध्यागमनका कर्मचारीले सेटिङमा लाखौं कमिसन खाएर मानिसहरू विदेशमा उठाउने गरेको खुलेपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो ।

रोजगारीका लागि भिजिट भिसामा युवाहरूलाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौं रकम असुल गरेको उजुरीउपर करिब सात महिना लामो छानविन गरेर मुद्दा दायर गर्ने अन्तिम तयारीमा अख्तियार लागेको छ । स्रोतको दावीअनुसार विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमख तथा कर्मचारी र विभाग र मन्त्रालयका कर्मचारी लगायतविरुद्ध मुद्दा दायर गरिँदैछ ।

गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो ।

यसको लिकेज अध्यागमन विभाग र गृह मन्त्रालयको उच्च तहसम्मै देखिएको थियो । भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरिएको थियो । लेखकले आफ्नो संलग्नता भए कारबाही गर्न माग गरेका थिए ।