काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रास्वपा सभापति रवि लामिछाने नौ महिनादेखि कारागारमा छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई कारागार पठाएको हो । त्यसपछि गत चैत २२ गते राति उनलाई काठमाडौंस्थित निवासबाटै प्रहरीले पक्राउ गरी भैरहवा कारागार लगेको हो । चैत २३ गते राप्रपाले चितवनमा बृहत् कार्यक्रम राखेको थियो । तत्कालीन सरकारले अघिल्लो राति नै उनलाई पक्राउ गरेर जेल पठाएको हो ।
चार महिना भैरहवा कारागारमा राखिएका रविलाई त्यहाँको बसाई निकै कष्टकर भएकाले काठमाडौं अड्डासार गरिएको हो । अहिले उनी ललितपुरको नक्खु कारागारमा छन् । कारागारमा उनलाई छुट्टै एउटा कोठा दिइएको छ । रविको अहिलेको बसाई सामान्य होटलको कोठा जस्तो रहेको छ ।
काठमाडौं ल्याइएपछि रवि जेनजी आन्दोलनका बेला एक साता बाहिरै बसे । रास्वपा समर्थकले उनलाई जेलबाट बाहिर निकालेका थिए । जुन विषयमा उनीमाथि न्यायिक जाँचबुझ आयोगले बयानसमेत लिइसकेको छ ।
नक्खु कारागार ल्याइएपछि अहिले रवि लामिछानेलाई भेट्न जाने भन्दै दिनहुँजसो एकजना पात्र खडा गरिन्छ । र, मिडियामा सूचना हालिन्छ । त्यसपछि भएभरका मिडिया नक्खु पुग्ने गरेका छन् । भेट्नेले रविबारे केही कुरा बोल्छन् र त्यसलाई लिएर रवि निर्दोष हो, छुटाउनुपर्ने भन्दै बोल्न लगाइन्छ । केही न केही रविबारे मिडियामा समाचार ल्याएर अहिले नक्खु कारागारलाई ‘राजनीतिको इपी सेन्टर’ बनाउन थालिएको राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् ।
तीनवटै अदालतले कारागारमा पठाएको विषयलाई नजरअन्दाज गर्दै एकोहोरो राज्यले प्रतिशोध साँधिएको भन्दै रास्वपाले प्रचार गराइरहेको छ । र, रविप्रति सहानुभूति राख्ने दलका नेता, समर्थक, पत्रकार, कानुन व्यवसायी, पूर्वन्यायाधीशलाई दिन बिराएर नक्खु पठाउने काममा रास्वपाको एउटा विङले काम गरिरहेको बताइन्छ ।
रास्वपा सभापति रविलाई भेट्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी आज नख्खु कारागार जाने भएका छन् । केही दिनअघि दलित अभियन्ता खगेन्द्र सुनार, कांग्रेस नेता सुनिल शर्मा, पत्रकार ऋषि धमला, प्रकाश सुवेदीलगायत कारागार पुगेका थिए ।














प्रतिक्रिया