काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । मंगलबार दर्ता रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेसी तोकिएको छ ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको जिकिर गर्दै कांग्रेसका आठ पूर्वसांसदहरूले रिट दायर गरेका हुन् । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सचेतक सुशीला थिङलगायतले पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीलाई वारेस बनाएर रिट दायर गरेका हुन् ।
उनीहरूले रिटमा राष्ट्रपति र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख देवराज घिमिरे र संसद् सचिवालयलाई विपक्षी बनाएका छन् । प्रतिनिधिसभा कायमै रहेको बेला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको काम असंवैधानिक रहेको उनीहरूको तर्क छ ।
यसअघि एमालेले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कांग्रेसले दायर गरेको रिट निवेदन पनि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ गरिने भएको छ । एमाले अध्यक्ष केपी ओलीले अदालत वा राष्ट्रपतिले प्रतिनिधिसभा पुनःस्थापना गर्ने दाबी गर्दै आएका छन् । कांग्रेस पनि अहिले ओलीकै एजेन्डामा हिँडेको छ ।














प्रतिक्रिया