रवि र छविको मुद्दामा आज पनि तोकियो पेसी


काठमाडौं । सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले मुद्दाको सुनुवाइका लागि आज पेसी चढाइएको जानकारी दिए । यसअघि लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका कारण दुईपटक बहस स्थगित भएको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले गरेको आदेशविरुद्ध लामिछाने र जोशी उच्च अदालत पुगेका हुन्। दुवैको मुद्दालाई एकैसाथ राखेर अदालतले सुनुवाइ गर्ने भएको छ ।