गोवा नाइट क्लबमा ज्यान गुमाउने पाँच नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी


काठमाडौं । गत शनिबार भारत गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने सबै नेपालीको पहचिान खुलेको छ ।

गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको बताएका छन् । सबैको शव घरसम्मै पु¥याइदिने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । त्यसक्रममा ग्यास सिलिण्डर पनि विस्फोट हुँदा आगलागी भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चारजनालाई पक्राउ गरेको जनाएको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।