पूर्वमहानिरीक्षक खापुङ र सचिव दुवाडीसँग बयान लिइँदै, महानिरीक्षक कार्कीलाई पनि बोलाउने


काठमाडौं । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको समयावधि सकिने लाग्दा धमाधम उच्चपदस्थको बयान लिन थालिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीलाई बयानका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले उनीहरूलाई बिहीबार आयोगमा बयानका लागि बोलाइएको जानकारी दिए । आज दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ ।
हाल अवकाश प्राप्त खापुङ जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षक थिए । आन्दोलनमा २३ गते प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ । आयोगले उनलाई यसअघि २४ घण्टे स्पष्टीकरण सोधेको थियो भने अवकाश लगत्तै विदेश जान प्रतिबन्ध लगाएको थियो ।
जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते सरुवा गरेको थियो । उनलाई गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो ।
आयोगले आगामी एक साताभित्र एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने भएको छ । तर एमालेको १५औं महाधिवेशन सुरु हुन लागेकाले आयोग अलमलमा परेको छ । यदि अहिले ओलीलाई बल प्रयोग गरेर बयान दिन बोलाएमा परिस्थिति भड्किन सक्ने सुरक्षा निकायले सरकारलाई सुझाव दिएको बुझिएको छ ।