काठमाडौं । भदौको जेनजी आन्दोलनले हरेक क्षेत्रमा केही न केही असर गरेको छ । तर देशकै पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा भने कुनै त्यस्तो प्रभाव देखिएन । आगामी निर्वाचनमा कांग्रेसका क्षेत्र र जिल्लाले गरेका गरेका उम्मेदवार सिफारिसको सूची हेर्दा पुरानै अनुहारको बाहुल्यता छ ।
कतिसम्म भने जो विवादमा परेका छन् तिनीहरूको नाम पनि सिफारिस गरिएको छ । कांग्रेसका अधिकांश पूर्वसासद, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । जेनजी आन्दोलनको मर्म आत्मसात गरेको भन्दै अहिलेसम्म काठमाडौं १० बाट चुनाव जितेका राजेन्द्रकुमार केसी र धादिङ १ बाट चुनाव जितेका रामनाथ अधिकारीले मात्र कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । केसी र अधिकारीको यो कदमलाई लिएर सबैले समर्थन जनाएका छन् ।
तर ८० वर्ष उमेर पुगेका पार्टी सभापति शेरबहादुर देउवा नै फेरि चुनावमा उठ्ने घोषणाले भने कांग्रेसमा असन्तुष्टि उत्पन्न भएको छ । सभापतिले नै युवालाई मौका नदिएको आरोप लागेको छ ।
कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला, सुनिलकुमार शर्मा, मोहनबहादुर बस्नेतलगायत चर्चित अनुहार उम्मेदवार सिफारिस भएका छन् । महामन्त्री थापा त काठमाडौं, रोल्पा, सर्लाही र धनकुटा गरी चार जिल्लाबाट सिफारिस भएका छन् ।
कांग्रेसमा युवा नेता प्रशस्तै भए पनि क्षेत्रीय समितिले विकल्पका रूपमा मात्रै उनीहरूलाई सिफारिस गरेको देखिन्छ । सुरुमा पुराना नेता र त्यसपछि मात्रै युवाको नाम राख्नका लागि सिफारिस गरिएको देखिन्छ । क्षेत्र र जिल्लाले सिफारिस गरेका नाम केन्द्रले काँटछाँट गर्ने अधिकार राख्छ । त्यही भएर अहिले सिफारिस भएका पुराना नेता सबैलाई विश्राम दिएर युवाको नाम सिफारिस गर्न दबाब बढेको छ ।














प्रतिक्रिया