अमेरिका पठाइदिने भनेर पैसा लिएर पछि हत्या गरेको आरोपमा पूर्वमुख्यमन्त्रीका भाइ पक्राउ l


काठमाडौं । तल्लो बाटो हुँदै अमेरिका पठाइदिन्छु भन्दै पछि गोली प्रहार गरेर हत्या गरेको आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ महावरी चौधरी पक्राउ परेका छन् । बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ मा एउटा खाली घरमा सुतिरहेको अवस्थामा प्रहरीले दाङको ५१ वर्षीय महावीरलाई पक्राउ गरेको हो।

आइतबार बिहान बर्दियाको राजापुर नगरपालिक–४ मा आफैले सञ्चालन गर्दै आएको हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले गोली हानेर दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय निरज चौधरीको हत्या गरेका थिए। प्रहरीले आजै महावीरलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भनेर पैसा लिएका थिए। नातामा निरज महावीरका नाति पर्छन्। तर कति पैसा लिएको भन्ने खुलेको छैन । महावीर अमेरिकी ग्रीन कार्ड भएका व्यक्ति पनि भएको कैलालीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए। परिवारसहित अमेरिका बस्दै आएका उनी नेपाल आउजाउ गरिरहन्थे।पोल्ट्री फर्मको रेखदेखका लागि भनेर निरजलाई दाङको तुलसीपुरबाट बर्दिया लगिएको थियो।

महावीरले निरजको कन्चटमा गोली हानेका थिए। प्रहरीले घटनास्थलबाट गोली पनि बरामद गरेको बर्दियाका निमित्ति प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिए। रेस्टुरेन्टबाट प्रहरीले महावीरको पासपोर्ट, भिजा, अमेरिकी डलर लगायतका कागजात बरामद गरेको छ।

अमेरिका नपठाइदिएपछि आइतबार निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए। लगातार पैसा फिर्ता माग्न थालेपछि महावीरले निरजको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। महावीरले धेरै आफन्त र चिनजानका युवालाई तल्लो बाटो अमेरिका पठाउने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट रकम लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।