जलेको संसद् भवन देखेर पूर्वराष्टपति विद्यादेवी भण्डारी दुःखी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको संघीय संसद् भवनको अवलोकन गरेकी छन् । बिहीबार दिउँसो उनले नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए ।

अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन् । गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको संघीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो । संसद् भवनको मुख्य संरचना कायमै भए पनि भित्री संरचना सबै खरानी बनेको छ ।

भण्डारीले यसअघि सिंहदरबार पुगेर त्यहाँ जलाइएका सरकारी भौतिक संरचनाको अवलोकन गरेकी थिइन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ग्यालरी बैठकको निरीक्षण गरेकी थिइन् । आन्दोलनका बेला भण्डारीको भंगालस्थित निजी निवास पनि आगजनी गरिएको थियो । अहिले उनी बालुवाटारस्थित जेठी छोरी उषाकिरणको घरमा बस्दै आएकी छन् ।