भिजिट भिसा प्रकरण अदालत पुग्यो, पूर्वगृहमन्त्री रमेश लेखकलाई जोगाइयो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा ८० लाख बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित सातजनालाई प्रतिवादी कायम गरेको छ । गत जेठ ७ मा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको भेटिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले भट्टराईलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेका थिए । जसकारण लेखकसमेत यसमा मुछिएका थिए । तर उनले आफू भिजिट भिसा प्रकरणमा संलग्न नभएको उनको दाबी थियो । तत्कालीन विपक्षी दलले लेखकले गृहमन्त्रीबाट राीजनामा दिनुपर्ने भन्दै दुई महिनाभन्दा बढी संसद् अवरोध गरेका थिए ।