काठमाडौं । फागुन २१ मा आमनिर्वाचन गर्ने एक मात्र म्यान्डेट पाएकी प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । उनले शुक्रबार चार मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । मन्त्रीमा सिफारिस गरिएमा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नाम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नवनियुक्त मन्त्रीहरुको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको तयारी गरिएको छ । यसअघि प्रधानमन्त्री कार्कीले बढीमा ११ जनासम्म मन्त्री नियुक्त गर्ने बताएकी थिइन् ।
तर अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित १५ सदस्यीय बन्ने भएको छ । नेपालको संविधानअनुसार संघीय मन्त्रिपरिषद् २५ सदस्यीय हुने उल्लेख छ । प्रधानमन्त्रीसहित २२ वटा मन्त्रालय छन् । र, तीनजना राज्यमन्त्री नियुक्त हुने गरेका छन् । अझै प्रधानमन्त्री कार्कीले रक्षा, परराष्ट्र, पर्यटनसहित चारवटा मन्त्रालयको जिम्मेवारी निर्वाह गरेकी छन् । मन्त्री कुलमान घिसिङलाई तीन र अनिल सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।














प्रतिक्रिया