काठमाडौं । सरकारले जेनजी आन्दोलनका ४५ शहीदको सालिक बनाउने भएको छ । सिंहदरबारस्थित नयाँ संघीय संसद् भवन परिसरमा तीनजना अमर प्रहरीसहित ४५ जनाको सालिक निर्माण गर्ने निर्णय गरेको हो । तीन महिनाको अवधिमा गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न ३२ वटा निर्णय गरेको छ। जसमा आन्दोलनका घाइतेको व्यवस्थापन, शहीद परिवारलाई राहत र आन्दोलनकारीसँग भएको १० बुँदे सम्झौताको अनुमोदन प्रमुख छन्।
मंसिर ४ गते सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौतालाई मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ। सम्झौताअनुसार अब उप्रान्त यस आन्दोलनलाई ‘जेनजी जनआन्दोलन’ नामकरण गरिनेछ। सम्झौतामा भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग र संविधान संशोधनका लागि सुझाव आयोग गठन गर्ने, नव पुस्ताको सहभागिता सुनिश्चित गर्न ‘जेनजी परिषद्’ गठन गर्ने तथा मानव अधिकार उल्लंघनका घटनाको निष्पक्ष छानबिन गर्ने विषय समेटिएको छ।
राजनीतिक सुधारतर्फ दलभित्र उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन गर्ने, पार्टी अध्यक्ष र राष्ट्र सरकार प्रमुख दुई कार्यकालभन्दा बढी हुन नपाउने र जनप्रतिनिधिको उम्मेदवार हुन न्यूनतम उमेर २५ बाट घटाएर २१ वर्ष कायम गर्ने जस्ता विषय सम्झौतामा उल्लेख छन्।
जेनजी आन्दोलनका दुई हजार ४२९ घाइतेमध्ये मंसिर २३ गतेसम्म ६४८ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये ६१६ जनालाई जिल्ला प्रशासन कार्यालयबाट र ३२ जनालाई अस्पतालबाट परिचयपत्र वितरण गरिएको छ। २०९ जना घाइतेको वर्गीकरण भएको छ। सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। साथै, शहीदहरूको तस्बिर ७७ वटै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरिएको छ।














प्रतिक्रिया