काठमाडौं । जाँचमा कम अंक ल्याएको भन्दै बागलुङमा एक शिक्षकले छात्रालाई निलडाम हुने गरी कुटेका छन् । बरेङ गाउँपालिका–२ बराहकोटस्थित पुरुषोदय माध्यमिक विद्यालयका शिक्षक मिथलेश अधिकारीले जाँचमा कम अंक ल्याएको भन्दै छात्राहरूलाई निर्घात कुटपिट गरेको खुलेको हो ।
स्थानीय दिपेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आफ्नो छोरीमाथि कुटपिट भएको सार्वजनिक गरेका छन् । कक्षा १२ मा पढ्ने परियारकी छोरीले नुहाउने क्रममा खुट्टामा गहिरो निलडाम देखेपछि परिवारले सोधखोज गरेको थियो । उनले अर्थशास्त्र पठाउने सरले पिटेको भनेपछि घटना बाहिर आएको हो ।
१२ मा पढ्ने १५ जनामध्ये अधिकांश छात्रालाई शिक्षक अधिकारीले कुटेको पीडितले बताएका छन् । शिक्षक अधिकारीले आफ्नै विद्यार्थीमाथि निर्घात कुटपिट गर्दै आएको खुलेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको छ । शिक्षा अधिकृत सूर्यप्रसाद शर्माले शिक्षक अधिकारीलाई विद्यालयले कारवाही गर्नुपर्ने बताउँदै अन्यथा गाउँपालिकाले गर्ने बताए । ‘फोटोमा देखिएको दृश्य मेरो छोरीको खुट्टा हो।
मेरो नानी अहिले कक्षा १२ मा पढ्छिन्। बिहान ५ बजे उठेर बरेङबाट बाराकोट पुग्नुपर्ने बाध्यता छ। बेलुकी ५ बजेसम्म अतिरिक्त क्लास लिएर बरेङ बजार आउनुपर्ने बाध्यता छ, परीक्षामा पास हुनका लागि सात अङ्क नपुगेपछि शिक्षकले सात लौरो हान्नु भएछ। धन्यवाद ! श्री पुरुषोदय माध्यमिक विद्यालय परिवारलाई साथै बरेङ गाउँपालिका शिक्षा शाखालाई मैले धेरैपटक विद्यालय शिक्षा शाखा र बरेङ गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा पुरुषोदय माध्यमिक विद्यालयमा तुरुन्त छात्रावासको व्यवस्था गर्नुपर्यो भनेर बारम्बार कुरा उठाएँ।
पालिकाको एकमात्र प्राविधिक शिक्षा पढाइ हुने यो विद्यालय परिसरमा अधिकांश उपल्लो जातिको बसोबास रहेको छ। विद्यालयमा छात्रवास नहुँदा दलित विद्यार्थीहरूले सहजै कोठा पाउँदैनन्,’ परियारले लेखेका छन्, ‘मेरो छोरीलाई पिट्नुभयो भनेर मलाई दुःख छैन। तर ऊ हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ। खुट्टामा यस्तो निलडाम बोकेर दैनिक हिँड्दा उसलाई कति गाह्रो भयो होला, कमसेकम छात्रावास भयो भने यो चोट बोकेर हिँड्नु त पर्दैन मलाई यही लाग्छ।’














प्रतिक्रिया