काठमाडौं । कांग्रेसमा जस्तै एमाले नेताहरूले राजनीतिबाट स्वेच्छिक अवकाश लिन थालेका छन् । कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डे, राजेन्द्रकुमार केसी, रामनाथ अधिकारी र जिपछिरिङ लामाले अब राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
त्यसलगत्तै एमालेका दुई सिनियर नेताले अब कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । नयाँलाई अवसर दिने भन्दै उनीहरूले अहिले जारी केन्द्रीय कमिटी बैठकमा ११औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने बताएका हुन् । दुवैजना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् ।
महाधिवेशनअन्तर्गत आगामी नयाँ नेतृत्वका लागि आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रअघि आइतबार बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा भाग लिन भृकुटीमण्डप पुगेका ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने स्पष्ट पारे । उनले आफू ७० वर्ष पुगेकाले अब साधारण सदस्यको रुपमामात्रै सीमित रहने बताए । ‘म ७० पुगिसकेँ, अब कुनै चुनाव लड्दैन, साधारण सदस्यमात्रै रहन्छु’, उनले भने ।














प्रतिक्रिया