काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा बैठकको एजेन्डा र विषयवस्तुबारे केही उल्लेख भने छैन । कांग्रेसका पुराना नेता एवं मन्त्री आमोदप्रसाद उपाध्यायको आइतबार निधन भएकाले उनको विषयमा शोक दिवस मनाउन कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको बताइन्छ ।
मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो। मोरङका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए । उपाध्याय तत्कालीन मोरङ–२ बाट दुईपटक निर्वाचित सांसद हुन् ।
२०५६ सालको उपनिर्वाचनमा चुनाव जितेका उनी शिक्षामन्त्री पनि भए। २०५६ सालमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरीबाट चुनाव जितेका थिए । मोरङको क्षेत्र नम्बर १ छाडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए । उनले पहिलो संविधानसभा निर्वाचित पनि जितेका थिए।














प्रतिक्रिया