र्‍यापर आश्मान र विन्दुको ‘च्वाप्प मोइ’ सार्वजनिक


काठमाडौँ । गायिका विन्दु परियार तथा गायक एवं र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरे ।

गायिका विन्दुले आफ्नो गीतमा देखिने सपना यसपटक पुरा भएको बताइन । उनले भनिन्, ‘आफ्नो गीतमा नाचौं-नाचौं लागेको थियो । यसपटक त्यो सपना पुरा भयो । यसपटक नाच्ने शैलीको गीत तयार गरेको छु । आश्मानजीसँगको कोल्याबले पृथकता दिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौँ ।’

उनले गीतमा पहिलोपटक मोडलिङ गरेको बताउदै नयाँ अनुभव सङ्गालेको बताइन । उक्त कार्यक्रममा उपस्थितले विन्दुको स्वरको प्रशंसा गर्दै आश्मानसँगको सहकार्य राम्रो देखिएको प्रतिक्रिया दिए । गीतकार राजेन्द्र थापाले विन्दुको स्वर अन्य भन्दा पृथक रहेको बताउदै नयाँ सहकार्यको प्रशंसा गरे ।

उनले भने,‘विन्दुलाई मैले सुरुआती दिन देखि नै पृथक आवाजका कारण नोटिस गरेको हुँ । उनी विभिन्न किसिमका गीतमार्फत आफ्नो क्षमता देखाउने गर्छिन् । यसपटक आधुनिक आवाजमा र्‍याप आएको छ, यसले नयाँ सम्भावनालाई दर्शाउएको छ ।’

उनले गीतको भिडिओको समेत तारिफ गरे । र्‍यापर हाकिमले सङगीतकै भिन्न दुई विधामा चम्किरहेका ताराहरूको सहकार्यले नयाँपन दिने विश्वास व्यक्त गरे । ‘विन्दु जी आधुनिकसँगै पाश्र्वगायनमा सुनिनु भएको आवाज हो, आश्मानजीले र्‍याप सङ्गीतमा आफ्नो सम्भावना देखाउनुभएको छ । उहाँ दुईको जुगल्बन्दीले दर्शकलाई नयाँपन दिने देखेर नै यो सहकार्य भएको छ । दुवै विधालाई रुचाउने दर्शक एक ठाउँमा ल्याउने हाम्रो प्रयाश पनि हो’, र्‍यापर हाकिमले भने ।

गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्‍यापर आश्मानले निर्देशन गरेका हुन् ।