पार्टी राजनीतिमा निष्क्रिय देउवा भेट्न शेखर कोइराला महाराजगन्जमा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच भेट भएको छ। मंगलबार दिउँसो देउवालाई भेट्न कोइराला उनको निवास महाराजगन्ज पुगेका थिए । क्रियाशील वितरण समितिले नम्बरबिनाका फारम जिल्लाजिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई लिएर सभापति देउवालाई भेट्न गएका हुन् ।

कोइरालाले क्रियाशील वितरण समितिले नम्बरबिनाका फारम जिल्ला(जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको बताए । कोइरालाले बिना नम्बरका फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने जानकारी दिएका थिए ।

अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आमनिर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियोे ।

पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर देउवा अहिले सक्रिय छैनन् । अहिले खड्काले नै पार्टीका कामकारबाही सञ्चालन गरिरहेका छन् । तर कोइराला भने देउवालाई भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।