ब्राजिलमा शक्तिशाली आँधीले ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो


काठमाडौँ – ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ। करिब ४० मिटर अग्लो उक्त मूर्ति ढल्दा कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ। सो आँधी सोमबार दिउँसो आएको हो। ढलेको मूर्ति अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो, जुन हावन कम्पनीको ठूलो रिटेल स्टोरको पार्किङ क्षेत्रमा फास्ट–फुड आउटलेट नजिकै स्थापना गरिएको थियो।

हावन कम्पनीका अनुसार मूर्तिको कुल उचाइ ११४ फिट थियो। आँधीका कारण ७८ फिट भाग भाँचिएको छ भने ३६ फिट अग्लो आधार संरचनामा भने कुनै क्षति पुगेको छैन। स्थानीय बासिन्दाका अनुसार पार्किङ क्षेत्रको शोभा मानिँदै आएको करिब सात तले घरको उचाइ बराबरको उक्त मूर्ति आँधीले ढालिदिएको हो। मूर्ति ढलेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। स्थानीय रिपोर्टहरूका अनुसार ब्राजिलका विभिन्न स्थानमा रहेका हावन स्टोर नजिक यस्ता स्ट्याच्यु अफ लिबर्टीका प्रतिकृतिहरू स्थापना गरिएका छन्।