काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । दिउँसो ४ बजेदेखि मतदान सुरु गरेर आजै रातिसम्म परिणाम सार्वजनिक गर्ने तयारी छ ।
एमालेको नयाँ नेतृत्वका लागि सबैभन्दा बढी अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेल तथा महासचिवका दाबेदार शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीचको प्रतिस्पर्धालाई मानिएको छ । साढे २२ सय प्रतिनिधिले मतदान गर्दैछन् । दुई प्यानल भएकाले सवा ११ सय मत जसले कटाउँछ, ऊ विजयी बन्ने निश्चित छ ।
अहिलेको महाधिवेशनको माहोल हेर्दा अध्यक्षमा ओलीले मुस्किलले चुनाव जित्ने देखिन्छ । केही असन्तुष्ट नेताहरूको मन बुझाएकाले उनी तेस्रो कार्यकालका लागि चुनिने सम्भावना धेरै छ । तर महासचिवमा भने यसै भन्न सकिने अवस्था अहिले छैन । किनभने शंकर पोखरेल र सुरेन्द्र पाण्डे दुवै हेभिवेट उम्मेदवार हुन् । पोखरेलसँग पार्टीको पदाधिकारी र लुम्बिनीको मुख्यमन्त्री चलाएको अनुभव छ । पाण्डे एमालेको उपाध्यक्षका साथै पूर्वअर्थमन्त्रीसमेत हुन् ।
नवौं महाधिवेशनमा पाण्डे ६ मतले महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका थिए । अहिले उनी पोखरेलकै समूहबाट महासचिवमा उठेका छन् । हिजो माधवकुमार नेपाल समूहबाट उम्मेदवार बन्दा ६ मतले हार बेहोरेका पाण्डेलाई अहिले निकै सहज देखिएको छ ।
महासचिवको उम्मेदवार नबनाएकोमा केपी ओली र शंकर पोखरेलप्रति असन्तुष्टि जनाउँदै प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । ज्ञवालीको असन्तुष्टिले पाण्डेलाई प्रतिस्पर्धा गर्न सहज बनेको छ । अहिलेको समकालीन राजनीतिसँग जोडिएको डाटा पुँजीवादको प्रभावले विश्व राजनीतिमा बदलिरहेको आयामबारे पिएचडी गरिरहेका पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे संगठक र बौद्धिक नेताकै रूपमा स्थापित छन् ।
ज्ञवालीलाई अध्यक्ष ओलीले मनाउने निकै प्रयास गरेका थिए । तर, पुरानै पदमा उम्मेदवारी नदिने अडान राख्दै महासचिव बनाउन नपर्ने कारण ज्ञवालीले माग गरेका थिए । उपाध्यक्ष विष्णु पौडेल र महासचिवका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङसँगै ज्ञवालीलाई पनि उपाध्यक्षको उम्मेदवार बनाएर ओलीले प्यानल टुंग्याएका थिए । तर, ज्ञवालीले महासचिवलाई उपाध्यक्ष र एक नम्बर वरीयताको उपमहासचिवलाई महासचिवमा उठाउने कुराचाहिँ न्यायोचित भएको अडान राखेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । उनले एउटै व्यक्तिलाई पुरानै पदमा दोहोर्याउने काम उचित नभएको निकटस्थहरूलाई बताएका छन् । तर मंथलबारदेखि ओली गुटमा खुलेका ज्ञवालीले शंकर पोखरेलसँगै हिँडेर मत मागिरहेका छन् ।
पुनः पोखरेललाई महासचिवको उम्मेदवार बनाइएकोमा उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङ पनि असन्तुष्ट छन् । आफ्नै टिमका नेताहरू एकपछि अर्को असन्तुष्ट बन्दा पनि ओलीले पोखरेललाई नै रोजेका कारण त्यसबाट पर्ने असरको लाभ पाण्डेले लिन सक्ने देखिन्छ । १२औं महाधिवेशनमा शंकर पोखरेलको दबदबा रोक्न पनि उनलाई हराउन विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङलगायत भित्रभित्रै लाग्ने सम्भावना पनि उत्तिकै छ ।














प्रतिक्रिया