रविविरुद्ध आज सर्वोच्चमा अर्को मुद्दाको सुनुवाइ हुँदै


काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा हाल कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा बुधबार सुनुवाइ हुँदैछ । लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि युवराज पौडेल सफलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए । २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले पनि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने रिट निवेदनमा माग छ । दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिन निर्वाचन आयोगलगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ ।

कानुन व्यवसायीहरू राहदानी दुरुपयोग मुद्दामा पनि रविविरुद्ध सजाय हुनसक्ने आकलन गर्छन् । यदि त्यसबेला महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय नगरेको भए रविमाथि फौजदारी अभियोगमा सजाय हुने र उनी राजनीति गर्नबाटै वञ्चित हुने बताइन्छ ।