काठमाडौं । साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी एमाले अध्यक्षमा तेस्रो कार्यकाल पनि चुनिएका केपी ओलीले पहिलो दिन नै आफू नसुध्रिने छाँट देखाएका छन् । अध्यक्षको शपथ लिएकै दिन उनले आफू विरोधी खेमाका नेतालाई निषेधको डण्डा चलाएका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि क्रुद्ध बनेका ओलीले उनीहरूविरुद्ध महाधिवेशनमा निषेधको डन्डा चलाएका हुन् । ओलीले अध्यक्षका उम्मेदवार पोखरेल र महासचिवका उम्मेदवार पाण्डेलाई मात्र होइन, उनीहरूतर्फका पदाधिकारीका उम्मेदवार कसैलाई पनि आफ्नो तर्फबाट खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समेत राखेनन् ।
दुई तिहाइभन्दा बढी मत रहेका ओलीले त्यसरी निषेधको नीति लिएपछि त्यसको असर देखियो, यही कारण पाण्डेले केन्द्रीय सदस्यमै चुनाव हारे । पोखरेल प्यानलले केपी ओली र शंकर पोखरेलसहित उनीहरूको प्यानलका अधिकांश पदाधिकारीका उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा राखेको थियो ।
अध्यक्षमा निर्वाचित भएका ओलीलाई सामाजिक सञ्जालबाट बधाई दिएका पोखरेल र पाण्डेलाई विजयी बनेपछि ओलीले शपथमा समेत डाकेनन् । बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षको हैसियतले ओलीले उनीहरूलाई बोलाउन उपयुक्त ठानेनन्, निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धीलाई साथमै राख्न चाहेन । बोलावटको आशामा रहेका पोखरेल र पाण्डे दुवैले शपथ समारोहमा भाग लिएनन् । यसलाई लिएर ओली झन् निरंकुश शैलीमा अघि बढ्ने संकेत देखिएको छ ।
एमालेको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । एमालेले आगामी दिनमा कस्तो रणनीति अख्तियार गर्छ त्यसले देशको राजनीतिलाई निर्देशित गर्ने निश्चित छ ।














प्रतिक्रिया