काठमाडौं । एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दै छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइए पनि २ बजेमात्रै बस्ने भएको छ ।
एमाले सचिव महेश बस्नेतले बैठक सरेको जानकारी दिएका हुन् । ‘एमालेको केन्द्रीय कमिटीको आज कार्की बेन्क्युटमा दिउँसो १ बजे बस्ने तय भएको बैठक सोही स्थानमा दिउँसो २ बजे बस्ने जानकारी सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई गराइन्छ,’ बस्नेतले भने ।
बैठकमा महाधिवेशनको समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले जनाएका छन् । एमालेको ११औं महाधिवेशनले केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा निर्वाचित गरेको थियो । एमाले केन्द्रीय कमिटीमा ओलीको वर्चस्व पुनःस्थापित भएको छ । पदाधिकारीमा दुईबाहेक सबै ओली टिमका नेताले जितेका छन् । केन्द्रीय सदस्यमा समेत ९० प्रतिशत ओली निकट निर्वाचित भएका छन् । एमालेको केन्द्रीय कार्यसमिति ३०१ सदस्यीय जम्बो छ । पार्टी कार्यालय च्यासलमा ठाउँ नभएकाले एमालेले ब्यांक्वेटमा बैठक राख्न लागेको हो ।














प्रतिक्रिया