मार्भलका दुई प्रतीक्षित फिल्मका ट्रेलर लिक


काठमाडौँ । डिज्नी र मार्भल स्टुडियोजले गोप्य राख्न खोजेका दुई बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ का टिजर ट्रेलरहरू अनलाइनमा लिक भएका छन् । एक निजी स्क्रिनिङ साइटबाट बाहिरिएका यी ट्रेलरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सिर्जना गरेका छन् । लिक भएको ‘एभेन्जर्स: डुम्सडे’ को टिजरमा अभिनेता क्रिस हेम्सवर्थले निभाएको थोर पात्रको भावुक अडियो सुन्न सकिन्छ । उक्त अडियोमा थोरले आफ्ना पिता ओडिनसँग प्रार्थना गर्दै, आफूलाई राज्य, ताज वा घमण्ड नचाहिएको उल्लेख गर्दै जीवनका लागि योग्य नभए पनि ‘लभ’ लाई फेरि एकपटक देख्न पाउने समयसम्म बाँच्न दिन आग्रह गरेका छन् । उनले ‘थोर: लभ एन्ड थन्डर’ मा देखिएकी आफ्नी धर्मपुत्री ‘लभ’ लाई जनाएका हुनसक्ने अनुमान गरिएको छ ।

लिक भएका विभिन्न क्लिपका आधारमा फिल्मको कथावस्तु सुपरहिरोका सन्तानहरूको अपहरण वरिपरि केन्द्रित हुने संकेत देखिएको छ । डाक्टर डुमले स्टिभ रोजर्सको शिशु, थोरकी छोरी र फ्र्याङ्कलिन रिचर्ड्सलाई अपहरण गर्ने योजना बनाएको अनुमान फ्यानहरूले गरेका छन् । यसैबीच, ‘स्पाइडर–म्यान: ब्रान्ड न्यु डे’ को टिजर ट्रेलर पनि लिक भएको छ । यद्यपि, उक्त ट्रेलर पूर्ण रूपमा तयार नभइसकेको अवस्थामा देखिएको छ । यसअघि पनि ‘डेयरडेभिल: बर्न अगेन’ र ‘थन्डरबोल्ट्स’ का दृश्यहरू लिक भएका थिए, तर मार्भलले ती दृश्यहरूलाई आधिकारिक रूपमा सार्वजनिक गरेको थिएन ।

लगातार लिकका घटनापछि फ्यानहरूले डिज्नी र मार्भललाई अब उच्च गुणस्तरका आधिकारिक ट्रेलर सार्वजनिक गर्न दबाब दिएका छन् । तर, लिक गर्नेहरूलाई प्रोत्साहन नहोस भन्ने उद्देश्यले मार्भलले हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । ‘एभेन्जर्स: डुम्सडे’ को ट्रेलर लिक भएसँगै हलिउडमा ठूलो तरंग पैदा भएको छ । लिक भिडियोले अभिनेता क्रिस इभान्स पुनः ‘स्टिभ रोजर्स’ को भूमिकामा फर्किने पुष्टि गरेको छ। भिडियोमा एक अज्ञात पात्र मोटरसाइकल चढेर घर फर्किएको, त्यसपछि पुरानो सुपरहिरो कस्ट्युम उठाएको दृश्य देखिन्छ, जहाँ उनी स्टिभ रोजर्स भएको खुलासा हुन्छ। भिडियोको क्याप्सनमा स्पष्ट रूपमा ‘स्टिभ रोजर्स एभेन्जर्स: डुम्सडेमा फर्किनेछन्’ लेखिएको छ।

ट्रेलरमा स्टिभ रोजर्स पत्नी पेग्गी कार्टरसँग आफ्नो सानो बच्चालाई काखमा लिइरहेको अवस्थामा देखिन्छन्। यसले उनी पुनः युद्धमा फर्किन अनिच्छुक भएको संकेत गर्छ। सन् २०१९ को ‘एभेन्जर्स: एन्डगेम’ पछि क्रिस इभान्सले यस फ्रेन्चाइजबाट बिदा लिएका थिए।

यद्यपि, स्टिभ रोजर्सको पुनरागमनलाई लिएर फ्यानहरूमाझ केही विवाद पनि देखिएको छ। हाल साम विल्सन (एन्थोनी म्याकी) ‘क्याप्टेन अमेरिका’ को भूमिकामा छन्। तर लिक ट्रेलरमा स्टिभलाई ‘क्याप्टेन अमेरिका’ भनेर उल्लेख नगरिएकाले साम विल्सन नै वर्तमान क्याप्टेन अमेरिका रहने संकेत मिलेको छ।

रुसो ब्रदर्सको निर्देशनमा बन्ने यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो मार्भल फिल्म हुने बताइएको छ। रोबर्ट डाउनी जुनियर यस फिल्ममा ‘आइरन म्यान’पछि अब मुख्य भिलेन ‘डाक्टर डुम’ को भूमिकामा देखिनेछन्। फक्स स्टुडियोज डिज्नीमा गाभिएपछि पहिलोपटक प्याट्रिक स्टिवर्ट, इयान म्याकलेन र जेम्स मार्सडेनजस्ता कलाकारहरू ‘एक्स–म्यान’ पात्रका रूपमा देखिन सक्ने चर्चा पनि छ । उक्त टिजर ट्रेलर फिल्म ‘अवतार: फायर एन्ड एश’ सँगै हलमा सार्वजनिक गर्ने योजना थियो, तर त्यसअघि नै इन्टरनेटमा लिक भएको हो।