फेरि गोली ठोक्ने धम्कीले प्रेमकुमार राई तनावमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई यतिबेला तनावमा छन् । एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन) नामक उग्रवादी समूहले पटकपटक ज्यान मार्ने धम्की दिन थालेपछि उनी तनावमा परेका हुन् । कहिले इमेल त कहिले सामाजिक सञ्जालमार्फत नै राईलाई ज्यान धम्की दिइएको छ ।

यसअघि इमेलमार्फत मेल पठाएर धम्की दिइएकोमा यसपटक भने सामाजिक सञ्जालमार्फत उनको टाउकोमा गोली ठोक्न आह्वान गरिएको छ । झण्डै एक दर्जन भिआईपीलाई ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका नाइके प्रकाश पाठकले उनलाई गोली ठोक्नेलाई दुई करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोष्ट गर्दै उनले गोली ठोकेर ईजिएनको नाममा सरेण्डर गरेमा सो रकम परिवारलाई उपलब्ध गराउने उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो अनुकूलको सरकार भएकाले धेरै समय जेल पनि बस्न नपर्ने उनको जिकिर छ । ‘राईको वरिपरि हिँड्ने सुरक्षाकर्मी साथीहरु,जो बहादुरी सच्चा देशभक्त हुनुहुन्छ भने, टाउकोमा गोली ठोक्नुहोस् प्रेम राईको, अनि सरेण्डर गर्नुहोस् ईजीएनको नाम लिएर, दुई करोड इनाम दिनेछौं तपाईँको परिवारलाई, हाम्रोअनुकूलको सरकार हुँदा धेरै समय जेल बसिरहनुपर्नेछैन,’ उनले लेखेका छन् । साथै, सुरक्षाको घेरामा ढुक्कले बसेका राई ढिलोचाँडो मारिनुपर्नेसमेत भनिएको छ ।