योगेशको महासचिव पोखरेललाई फोन– उम्मेदवार चयन गर्न बैठक राख्नुस्


काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको बैठक बसेर समानुपातिक उम्मेदवारको स्पष्ट मापदण्ड तय गर्न ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पेस गर्ने समय नजिकिँदै आएको भन्दै उनले मापदण्डका आधारमा तहगत कमिटीहरूलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिन आवश्यक रहेको बताएका छन्। उनले यस विषयमा महासचिव शंकर पोखरेललाई फोनमार्फत ध्यानाकर्षण गराइसकेको जानकारी दिएका छन्।

‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नु पर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नु पर्ने छ । महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फ़त यो विषय ध्यानाकर्षण गरेको छु,’ उनले भनेका छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम बन्दसूचीमा राख्न पुस १३ र १४ गतेको समय तोकेको छ ।

हालै सम्पन्न ११औं महाधिवेशनपछि एमालेको एकपटक केन्द्रीय कमिटीको बैठक बसेको छ । एमालेको अन्य कमिटी गठन भइसकेको छैन । आगामी पुस अन्तिमतिर केन्द्रीय कमिटीको दोस्रो बैठक राखिएको छ । तर महाधिवेशनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै इतर पक्षले आरोप लगाएपछि पछिल्लो केही दिनयता एमालेमा किचलो सुरु भएको छ । जसकारण अध्यक्ष केपी ओलीले केन्द्रीय सचिवालय बैठकसमेत बोलाएका छैनन् ।