प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?


काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ । कांग्रेसका ६५ र अन्य दलका तीन सहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजका लागि पेसी तोकिएको हो ।

हस्ताक्षरसहितको पूरक रिट मंगलवार सर्वोच्चमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् ।

उनीहरूले मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् । एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेले मंसिर १० गते र कांग्रेसका सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । प्रतिनिधिसभा पुनःस्थापनाको विषयले राजनीति गर्माइरहेका बेला सबैको आँखा सर्वोच्चमा परेको छ