आफ्नो निवासमा आए ओलीले बयान दिने, तर आयोग नजाने


काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू जाँचबुझ आयोगको कार्यालय गएर बयान नदिने भएका छन् । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग घरमै आए भने उनी बयान दिन तयार छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलका क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने, तर जाँचबुझ आयोगको कार्यालय भने नजाने जानकारी गराएका हुन् ।

‘यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, जे–जे भन्नु छ, म त्यहीँ भनौँला,’ ओलीको भनाइ थियो । ओलीले यसअघि पनि पटकपटक बयान दिन जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने बताउँदै आएका थिए ।

हालै हिमालयन टेलिभिजनमा अन्तर्वार्ताका क्रममा ओलीले भनेका थिए, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि, यत्रो कसुर गर्ने, बयान दिन नमान्ने ? नतिजा आइसक्यो जाँच दिन्नँ भन्ने ? यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली । उहाँहरूसँग छ नि त बन्दुक । के सानातिना कुरा गरिराख्या भएन भने आजीवन थुन्दिने नि बयान नगरेबापत ।’ सुरुमा कठोर रूपमा प्रस्तुत भएका ओलीले पछि घरमै आए भने बयान दिने संकेत पनि गरेका थिए ।

घरमै आए चिया खुवाएर पठाउने, कुराकानी गर्ने, बोलचाल नै बन्द नगर्ने बताएका थिए । जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ । मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्राचार गरेको छ । लेखकले बयान दिन जाने कि नजाने भनेर बुधबार पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन् ।